पाँचवटै मिलेर जाऊन हामी एक्लै काफी छौँ’ : अध्यक्ष केपी ओली
चितवन, १५ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार आफैं ढल्ने बताएका छन्।
एमाले भरतपुर महानगरको अधिवेशनलाई सोमबार चितवनमा सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्। ‘हामी यो सरकारलाई केही गर्दैनौँ। हाम्रो तयारीमा जुटिसकेका छौँ। तर यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुर झैँ खुइलिँदै जान्छ’, उनले भने, ‘हामीले चाह्यौँ भने सजिलै ढाल्न सक्छौँ। तर हामी यसलाई चलाउँदैनौँ।’
उनले पाँच दलीय गठबन्धन चुनावमा जान डराएको पनि ओलीले आरोप लगाएका छन्। ‘चुनावबाट कहिलेसम्म भाग्लान् यिनीहरु? स्थानीय तहको चुनावमा यिनीहरुलाई धोबीले लुगा पछारेझैँ पछार्नुपर्छ’, उनले भने, ‘भरतपुर महानगरमा जित्ने एमाले नै हो। आजैदेखि नै एकतावद्ध भएर तयारी गर्नुस्।’
उनले अब एमालेमा देखिएको विवादलाई बिर्सिएर अघि बढ्न पनि आग्रह गरे। ‘हिजो कुन पृष्ठभूमिमा के भयो, हिजोका कुरामा अल्झिने होइन। अब समय बर्बाद गर्ने होइन’, उनले भने, ‘विगतका तीता मिठा कुरा सम्झिएर समय खेर फाल्ने होइन यो। अब अरु झैँ हामी कुटाकुट गरेर बस्ने होइन। अघि बढौँ चुनावको तयारीमा लागौँ।
उनले पाँच दल एकसाथ लडे पनि एमाले एक्लै काफी हुने बताए। ‘हामी जित्नका लागि लड्छौँ। चुनावसम्मै हामी पाँचवटा मिल्छौँ भनिरहेका छन्। पाँचवटै मिलेर जाऊ हामी एक्लै काफी छौँ’, उनले थपे, ‘अब तपाईंहरु धनुबाट छुटेका वाण जसरी काम लाग्नु। एमालेलाई एक्लैलाई विजयी बनाउन लाग्नुस्।’

