बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्नेच्युडको भूकम्प, प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’

बझाङ, २७ कात्तिक – बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। पछिल्ला दिनमा सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेको छ।

प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’

पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।

“मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् ।

खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताउनुभयो । जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।

Facebook Comments Box