कोशी, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, २७ चैत – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको महाहशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।