ठेंचोमा हरेक १२ वर्षमा लाग्ने नबदुर्गा भबानीको जात्रा सुरु
काठमाडौँ, १८ असोज – ललितपुरको ठेंचोमा हरेक १२ वर्षमा लाग्ने नबदुर्गा भबानीको जात्रा यही गठेमंगलदेखि सुरु भएको छ। यो जात्रा अवधिभर विभिन्न महत्वपूर्ण २८ पर्वहरु, नाच,होम आदि पर्दछन्।
यो पर्वमा सुनाकोठीको बालकुमारी मन्दिर परिसरमा फूलपातीका दिन तान्त्रिक विधिबाट होम गरिन्छ, जसलाई स्थानीय भाषमा कुल्पी होम भनिन्छ। होम र पूजापाठ गर्ने काम मध्य रातसम्मै गरिन्छ। यस कल्पी हवनमा आवश्यक काठ, दाउरा र अन्य पूजाका सामान तीनपाने भन्ज्याङबाट गुठियारहरुले ल्याउँछन्।
यस यज्ञमा पञ्चबलि दिइन्छ। एक जोर परेवा, एक जोर माछा, सर्प, भँगेरा प्रत्येकबाट एउटालाई हवनमा चढाइन्छ भने अर्कोलाई उडाइन्छ, त्यसै छोडिन्छ। मध्य रातमा देवगणहरु जल लिन मन्दिरभन्दा करिब १० मिनेट परको सानो खोलामा जान्छन्।
पहिले पहिले देवगणले पानी लिन जाने हेर्न अन्य मानिसले हेर्न मिल्दैनथ्यो तर आजकाल महिलाले जल लिएर आएका देवगणलाई छुन मिल्दैन। उक्त जल होमको वरिपरि विसर्जन गरेर रातको ठीक १२ वजे रांगाको बलि दिएर होम समापन हुन्छ। यस दिनको अर्को महत्वपूर्ण गतिविधि हरेक १२ वर्षमा देवगणहरुको लुगा र मुकुट फूलपातीकै दिनमा मात्र परिवर्तन गरिन्छ।
नयाँ मुकुटलाई तान्त्रिक पूजाबाट जगाईन्छ। अष्टमीका दिनमा नयां मुकुट र पोशाकमा विशेष नवदुर्गा नाच पनि बालकुमारीमा देखाइन्छ। स्थानीयका अनुसार यस ठेंचोको मेलाको सुरुवात कहिलेदेखि भयो भन्ने नैै थाहा नभएको र एकदमै पहिलेदेखिनै मनाइँदै आएको छ।
ललितपुरको ठेंचोको यस जात्रामा विभिन्न जीव जनावरको बलि सँगै मानवबली पनि दिइन्थ्यो भन्ने स्थानीयले बताए पनि अहिलेसम्म त्यसको कुनै प्रमाण भने फेला परेको छैन।

