म्याद नाघेको जुस पिउँदा २५ जना विद्यार्थी बिरामी

काठमाडौं, १७ चैत – जुम्लाको गुठिचौर गाउँपालिकामा जुस पिउँदा २५ जना विद्यार्थी बिरामी भएका छन्। गुठीचौर गाउँपालिका-५ देपालस्थित हिमाली बोर्डिङ स्कुलका विद्यार्थी बिरामी परेका हुन्। म्याद नाघेको जुस पिउँदा उनीहरू बिरामी परेका हुनसक्ने आशंका शिक्षक र अभिभावकले गरेका छन्।

स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी बिरामी परेको बताए। ‘पानीमा पनि केही मिसिएको हो कि भन्ने आशंका छ,’ उनले भने, ‘हामीले पानी परीक्षण गर्ने तयारी गरेका छौँ।’

जुस पिएका विद्यार्थीलाई पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्या देखिएपछि बुधवारदेखि आगामी आइतवारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक गिरीले जानकारी दिए। बिरामी विद्यार्थीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य रहेको उनले बताए।

Facebook Comments Box