बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’ सङ्क्रमण पुष्टि
बैतडी, २० फागुन – बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला धनगढी मा गरिएको परीक्षणबाट मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ भाइरस देखिएको हो। भाइरल ज्वरोका कारण यही फागुन ११ गते १३ वर्षीय विनोद महरा र फागुन १६ गते १० वर्षीय विकास महरा दाजुभाइको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार १० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गर्दा ‘इन्फ्लुएञ्जा बी’ पुष्टि भएको हो। उहाँले यो रोग सामान्य भए पनि विशेषगरी बालबालिका र वृद्धवृद्धामा छिटो सर्ने बताउनुभयो।
पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा ६५ वर्षमाथिका दम, मुटु र मधुमेहजस्ता दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ। गाउँमा प्रकोप देखिएलगत्तै स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको जनाइएको छ। स्वास्थ्यकर्मीले साबुनपानीले नियमित हात धुने, भीडभाडबाट टाढा रहने, खोक्दा–हाछ्युँ गर्दा मुख छोप्ने लगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्।

