विश्वविद्यालयका समस्या समाधानमा सहयोग गर्न प्राध्यापकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २६ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयका समस्याहरुलाई आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन्।बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयका समस्या समाधान गर्न प्राध्यापकहरुको सहयोगको अपेक्षा रहेको बताए।

उनले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए। उनले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए।

उनले भने, ‘विश्वविद्यालयका समस्या, चुनौतीहरूलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु। यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु। कुनै पनि मुलुकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ।

विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ।’

उनले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘विश्वविद्यालयको पठन–पाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुनेगरी अघि बढाउने मुल जिम्मेवारी पाएका प्राध्यापकहरूले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमुलक बनाउने, देश र जनताको हितमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ।’

Facebook Comments Box