नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने
काठमाडौँ, १२ चैत – नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो।
आइतबार (१२ चैत) सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने तयारी भएको एक पदाधिकारीले बताए। ‘पूर्ण दाईको नेतृत्व सभापतिले पनि चाहनुभएको छ। बैठकमा यसमा सैद्धान्तिक छलफल भयो। तर, नामको विषयमा कुरा भएको हैन।
पदाधिकारी वरियताको आधारमा कुरा गर्दा उहाँ नै हो,’ ती पदाधिकारीले भने, ‘भोलि सभापति उपसभापति र महान्त्रीको छुट्टै बैठक हुन्छ। हामी संभवतः पर्सि कार्यसम्पादन बसेर औपचारिक निर्णय गर्छौं।’ ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ।
बैठकमा खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका थिए। ‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं।’

