१ अर्ब लगानीको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टी समूहले गर्ने
काठमाडौं, २६ असार – भरतपुरको पटिहानीमा रु एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ ।
पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालि र सोल्टी समूहको व्यवस्थापनबीच रिसोर्ट सञ्चालनका विषयमा आज सहमति भएको हो ।
सहमतिसँगै सोल्टी ‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानीका नाममा आगामी भदौ १ गतेदेखि होटल सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा यो होटल रहेको छ ।
पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ व्यवसायीको लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार अब होटलको व्यवस्थापन सोल्टीले गर्ने छ । रिसोर्टमा दश अत्याधुनिक भिल्ला छन् । यी बाहेक दुई स्वीइट भिल्लामा पौडीपोखरीसमेत रहेको छ ।
रिसोर्टमा ५२ कोठा छन् । पाँच सय जना अट्ने एउटा, १५० जना अट्ने दुई वटा, ७५ जना अट्ने तीन वटा र २५ जना अट्ने दुईवटा हलसमेत छन् । रेष्टुरेन्टमा एक पटकमा ३०० जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० जना अट्ने सुविधासम्पन्न बार पनि छ । यससँगै हेल्थक्लब रहने छ ।
बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्थासमेत गरिएको छ ।
विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजिल्याण्डको टायल डेक्क्राको छानो होटलमा छ ।
धेरै जमिन भएकाले तरकारी, फलफूल आफै उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारु कला संस्कृतिमा रमाउने गर्न सकिने उहाँको भनाइ छ ।
यससँगै पर्यटकका लागि थारु जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागार्इंले सम्झौतासँगै अब चितवनमा सोल्टीको व्यवस्थापनमा होटल सञ्चालन हुने बताउनुभयो ।
नेपालमा विदेशी व्यवस्थापन समूहले ठूला होटल हेरिरहेका छन् । स्वदेशी व्यवस्थापनमा सोल्टी समूहले आफ्नो अनुभवलाई उपयोग गरेर उत्कृष्ठ व्यवस्थापन गर्नसक्ने उहाँ बताउनुहुन्छ ।

