‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ काठमाडौंको पशुपतिक्षेत्रमा सुरु`

काठमाडौं, २६ असार –  राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा राजधानीमा दुई दिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ काठमाडौंको पशुपतिक्षेत्रमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे।

वैदेशिक शक्तिहरुको बलमा जबर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताए।

धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै जाकरुक हुनुपर्नेमा थापाको जोड थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा सम्मानित विशिष्ठ अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरुको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए।

बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले बोलेका थिए।

कार्यक्रममा प्रतिनिधिरुपमा करिब ६० जिल्लाका धार्मिक अगुवाहरु सहभागी छन्। कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ, प्राडा सोम प्रसाद खतिवडा, संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए। कार्यक्रम भोलिसम्म जारी रहनेछ।

Facebook Comments Box