बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढ्न थाले

बाँके, १३ असार – बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढ्न थालेका छन्। खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो।

स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच सिकलसेलका बिरामीसहित सो पालिकामा बिरामीको सङ्ख्या २३ पुगेको छ। सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास सङ्ख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए।

स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रिनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए। तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए ।

Facebook Comments Box