प्रसूतिगृहमा एकजना महिलाले २६ दिने शिशु लिएर गायब

काठमाडौँ, ११ फागुन – काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी छन्।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको समयमा उपचारका लागि लाइनमा उभिएकी अपरिचित महिलाले २६ दिने छोरी लिएर बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको छ।

ती महिलाले लाइनमा उभिएका बेला बोकिदिन्छु भनेर शिशुलाई लिएकी थिइन्। २६ दिने शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका-१२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।

जन्डिसकी बिरामी शिशुको उपचारका लागि अस्पताल आइपुगेका देउरानी-जेठानी डाक्टरको पालो कुर्ने लाइनमा थिए। त्यही बेला लाइनमै रहेकी अर्की महिलाले म बोकिदिन्छु भनेपछि आमाले दिएकी थिइन्।

त्यसपछि उनी शिशुसहित गायब भएकी हुन्। ‘लाइनमा कोही अपरिचितले बोकिदिन्छु भन्यो। त्यसपछि कता लग्यो थाहा छैन’, प्रत्यक्षदर्शीले भने, ‘नाबालिका हराएको बिहान ११:५५ बजे हो।’

सविनाले २६ दिनअघि छोरीलाई थापाथलीस्थित प्रसूति अस्पतालमै शल्यक्रिया गर‍ेर जन्माएकी थिइन्। लगातार उपचारमा रहेका उनीहरूले तीन दिनअघि मात्रै शिशु घर लगेका थिए। जन्डिसकै फलोअपमा उनीहरू अस्पताल आएका थिए। सविनाले अघिल्लो वर्षको माघमा पुजन श्रेष्ठसँग बिहे गरेकी थिइन्।

शिशु हराएपछि उनीहरूले खोजीका लागि प्रहरीलाई खबर गरेका छन्। प्रहरीले खोजी गरिरहेको जनाएको छ। छोरी हराएपछि अहिले आमा सविना बोल्न सक्ने अवस्थामा छैनन्।

Facebook Comments Box