झापाको भद्रपुर नगरपालिकाको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै माओवादीका १७ जना नेता कार्यकर्ताले पार्टी छाडे

झापा, १४ वैशाख – झापाको भद्रपुर नगरपालिकाको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का १७ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्। पार्टीको प्रदेश १ का सदस्य र नगर इन्चार्जसहित १७ जनाले पार्टी परित्याग गरेका हुन्।

स्थानीय तह निर्वाचनमा तीन दलीय गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रले भद्रपुरमा उपमेयर पाएको छ। माओवादी केन्द्रले उपमेयरमा माओवादी केन्द्र भद्रपुरका नगर अध्यक्ष शिवकुमार राजभण्डारीलाई टिकट दिएको छ।

त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदेश सदस्य मीरा अधिकारी सन्जेल, नगर इन्चार्ज नरेश सन्जेलसहितले पार्टी छाडेका हुन्। उनीहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

त्यसैगरी माओवादीका स्थानीय नेताहरु भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, विष्णु बहादुर राई, गङ्गा प्रसाद सन्जेल, कृष्णबहादुर तामाङ, योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरबिन्द्र अधिकारी, खद्रप्रसाद निरौला, मोतनन्दन निरौला, चन्द्रबहादुर तामाङ, रञ्जित राई र घनश्याम खनालले पनि पार्टीबाट सामूहिक राजीनामा दिएका हुन्।

माओवादी केन्द्रको प्रदेश तथा केन्द्रीय समितिले उपमेयरको टिकट दिँदा नगरस्तरीय कार्यकर्ताहरूसँग कुनै छलफल नगरी उम्मेदवार चयन गरेको उनीहरुको आरोप छ।

Facebook Comments Box