संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली काठमाडौँमा

काठमाडौं, ९ वैशाख – संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि शुक्रबार साँझ काठमाडौँ आइपुगेको छ। अमेरिकी संसदीय टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख निर्मल राज काफ्ले र नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्र्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) यहाँ आएका हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटी विभिन्न विषयमा छलफल गर्नेछ। अमेरिकी संसदीय टोलीले भोली शनिबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बेग्ला बेग्लै भेट्ने कार्यक्रम छ।

यही हप्ता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाउन लागिएको जनाउँदै दूतावासले संसदीय टोलीको भ्रमणलाई दुई देशबीचको जारी दौत्य साझेदारीको एक हिस्सा रहेको जनाएको छ।

संसदीय टोलीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको थप प्रभाव बुझ्न शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाएको दूतावासले जनाएको छ। तर उनीहरु कुन क्षेत्रको पदयात्रामा जान्छन् भन्ने दूतावासले खुलाएको छैन। अमेरिकी संसदीय टोली पोल्याण्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आएको हो।

‘रुसको नाजायज र अन्यायपूर्ण युद्धका विरुद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्याण्डको यात्रा गरेको थियो। युक्रेनमा रुसले गरेको क्रुर हमलाको निन्दा गर्ने अधिकांश देशहरूमा नेपाल सामेल भएको छ’ दूतावासले प्रेस विज्ञप्तिमा भनेको छ।

Facebook Comments Box