निर्वाचन आयोगले ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको जानकारी
काठमाडौं, ५ वैशाख – निर्वाचन आयोगले ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको जनाएको छ। स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्म ४६ जिल्लाका लागि सो परिमाणमा मतपत्र छपाई सकिएको प्रवक्ता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले राष्ट्रिय समाचार माध्यमहरुका निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ।सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले भोली (वैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी गराए। यसअघि निर्वाचन आयोगले प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ।
त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पनि पत्राचार गरेको छ।
साइन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरुपता ल्याउनका लागि सोको नमूना पढाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेलले बताए।
उनले भने, ‘आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइन बोर्ड, लेटर प्याड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै जिल्ला मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्नुपर्ने साइन बोर्ड, लेटरप्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ।’
उनले थपे, ‘स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन भएको भन्ने समाचार र सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ। जवाफ आउने क्रम जारी छ। आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मत पत्र मध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ।’

