बाजुरा जीप दुर्घटनाः घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार, तीन जनाको मृत्यु
बाजुरा, ८ साउन – बाजुराको हिमाली गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
बा.प. ०३–००१ ज ०३३८ नम्बरको जीप हिमाली गाउँपालिका–५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो। कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेको कारण जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
दुर्घटनामा परी घटनास्थलमै ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको मृत्यु भएको छ भने ३५ वर्षीया जुनेली रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए।
घाइते भएका १३ जनामध्ये जीप चालक २३ वर्षीय गौरी बुढा, ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, र ४५ वर्षीय वीरबहादुर रोकायालगायतलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए।
उहाँका अनुसार एकै पटक सबैलाई लैजान सम्भव नभएकाले पटक–पटक गरेर सबै घाइतेलाई उद्धार गरिएको हो। दुर्घटनापछि हिमाली गाउँपालिकाले एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरी घाइतेको तत्काल उद्धार प्रयास गरेको जनाएको छ।

