एमाले क्विन्टलको ढक हो, गठबन्धन भनेको एक/एक किलोको ढक जस्तो हो : केपी ओली

काठमाडौं, १६ चैत – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लड्ने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन् । अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न नसक्ने बुझेपछि सत्तारुढ दलहरू चुनावी गठबन्धन गर्न बाध्य भएको दाबी पनि गरेका हुन् ।

पार्टीका नेता एवम् व्यवसायी दुर्गा प्रसाईँले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको सूर्य विनायक हरित कृषि तथा थोक बजारको बुधवार आज उद्घाटन गर्दै उनले यो गठबन्धनले चुनावमा अप्ठेरो पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष ओलीले भने, ‘साथीहरूले बुझ्नु भएको छ । बुझेर नै एमाले प्रवेश गरिरहनुभएको छ । यसले देखाउँछ–नेकपा एमाले कुन ठाउँमा छ ? भन्ने । कतिपय साथीहरूलाई लाग्न सक्छ– गठबन्धन गरेका छन्, अप्ठ्यारो पर्छ कि भन्ने ।

मैले भन्ने गरेको छु– यदि एउटा तराजुमा एक÷एक किलोको पाँच वटा ढक एकातिर राख्नुभयो अनि क्विन्टलको ढक एकातिर राख्नु भयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो । पाँच वटा गठबन्धन भनेको एक÷एक किलोको ढक जस्तो हो । त्यो पाँच वटा गठबन्धनले के गर्छ ? एक्लै एमालेसँग लड्न आउन नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ । त्यस कारण गठबन्धन गर्न जरुरी छ ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोभ भएको समूहहरूको संज्ञा दिँदै सत्ता टिकाएर लैजान गाह्रो हुने बताए । त्यही भएर उनीहरूले स्थानीय तह चुनावमा उम्मेदवारी मनोनयनमा दुई दिन दिन निर्वाचन आयोगलाई बाध्य गराएको उनले दाबी गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाले प्रवेश गरेका युवाहरूलाई विगतमा दुरुपयोग गरिएको तर आफ्नो पार्टीले सदुपयोग गरेर राष्ट्र निर्माणको अभियानमा संलग्न गराउने बताए ।

Facebook Comments Box