निर्धारित समयअघि नै रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न

 इलाम, ३२ असार –  इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई जोड्ने रिखुवा खोलामाथिको पक्की पुल निर्धारित समयअघि नै निर्माण सम्पन्न भएको छ। आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ मा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीको आवतजावत सहज र सुरक्षित बनेको छ।

सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानमार्फत निर्माण गरिएको पुल रु ३० करोड ६४ लाख ८४ हजारको लागतमा सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो। रु ३३ करोड ९८ लाख २२ हजार ५८९ को लागत अनुमानमा ठेक्का आह्वान गरिएको भए पनि निर्माण कम्पनी शान्ति निर्माण सेवाले रु ३० करोड ६४ लाख ८४ हजारमा सम्झौता गरी निर्धारित समयअघि नै निर्माण कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो।

आयोजना प्रमुख मगरका अनुसार २०७९ पुस ३० गते निर्माण कम्पनीसँग २०८३ असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर कम्पनीले सम्झौता अवधिअघि नै निर्माण सम्पन्न गरेको हो। अन्य धेरै आयोजना पटक–पटक म्याद थपिँदा पनि सम्पन्न हुन नसकिरहेका अवस्थामा यो आयोजना समयमै सम्पन्न हुनु सकारात्मक उदाहरण बनेको उहाँको भनाइ छ।

पुल सेक्टरका इन्जिनियर हरि मण्डलका अनुसार २०० मिटर लामो र ११ मिटर चौडा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। स्थानीयवासीका अनुसार पुल नहुँदा वर्षायाममा रिखुवा खोलामा बाढी आएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको थियो। बिरामी तथा गर्भवतीलाई अस्पताल पुर्‍याउन र विद्यार्थीलाई विद्यालय आउजाउ गर्नसमेत समस्या हुने गरेको थियो।

माई नगरपालिका–६ का स्थानीय बुधराज योङहाङले पुल सञ्चालनमा आएपछि वर्षौंदेखिको समस्या समाधान भएको बताउनुभयो। उहाँका अनुसार पानी पर्नेबित्तिकै वारिपारि आउजाउ गर्नुपर्ने कठिनाइ अब अन्त्य भएको छ। माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले पुल निर्माणपछि माई नगरपालिका र माङसेबुङ गाउँपालिकाका नागरिकलाई आवतजावतमा सहज भएको बताउनुभयो। उहाँका अनुसार धार्मिक पर्यटकीय क्षेत्र लारुम्बासहित झापाको बिर्तामोड र आसपासका क्षेत्रमा पुग्नसमेत पुलले महत्वपूर्ण सुविधा पुर्‍याएको छ।

Facebook Comments Box