वार्ता असफल भए तेस्रो विश्वयुद्ध निम्तिन्छः जेलेन्स्की

काठमाडौं, ७ चैत – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिले गरिरहेको आक्रमण रोक्नको लागि हुने वार्ता असफल भए त्यसले तेस्रो विश्वयुद्ध निम्त्याउने बताएका छन्।

आइतबार सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू युद्ध रोक्न प्रत्यक्षरुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको लागि तयार रहेको उल्लेख गरेका छन्। उनले युद्ध रोक्न वार्तामात्र एक उपाय रहेको पनि उल्लेख गरेका छन्।

‘मलाई वार्ता सम्भव बनाउन हामी जुनसुकै फरम्याट वा उपायको प्रयोग गर्नुपर्छ भन्ने लाग्छ’, उनले भने। यद्यपि रुस समर्थित विद्रोही रहेका क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने शर्तमा भने कुनै पनि सम्झौता नहुने जेलेन्स्कीले बताए।

जेलेन्स्कीले युक्रेन नेटोको सदस्य बनिसकेको भए यो युद्ध सुरु नहुने बताए। ‘नेटोले हामीलाई आफ्नो गठबन्धनमा देख्न चाहन्छ भने तत्कालै आफ्नो काम सुरु गरोस्’, उनले भने, ‘किनकी अहिले दिनानुदिन मनिसहरु मरिरहेका छन्।’

Facebook Comments Box