झापामा बाढीको कहर : चार करोड बराबरको क्षति

बनियानी (झापा), २६ असोज – अविरल वर्षापछि आएको बाढीका कारण झापामा करीब ४,५०० घरपरिवार र २,५०० बालबालिका प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार सबैभन्दा बढी क्षति झापा गाउँपालिकामा पुगेको छ, जहाँ करिब ३,४०० घरपरिवार प्रभावित भएका छन्।

गत असोज २३ गतेयता झापा गाउँपालिका–१ र २ का १,७०० बाढीपीडित परिवारलाई राहत प्याकेज वितरण गरिएको छ। प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र पुस्तक उपलब्ध गराउने कार्य पनि सुरु गरिएको प्रशासक प्रसाईँले जानकारी दिनुभयो।

बाढीपछिको अवस्थामा कृषि, पशुपालन र पूर्वाधार क्षेत्रमा भएको क्षतिको विवरण संकलन जारी छ। विपद्जन्य रोग नियन्त्रणका लागि मेची प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयका टोलीहरू प्रभावित क्षेत्रमा परिचालित छन्। पानी शुद्धीकरण, ट्याङ्की स्थापना र पानीजन्य रोग रोकथामका उपाय पनि अपनाइएका छन्।

राहत वितरणका लागि विभिन्न व्यक्ति, संस्था र व्यावसायिक प्रतिष्ठानहरूले सहयोग गरिरहेका छन्। करीब ४,००० परिवारका लागि खाद्यान्न पर्याप्त मात्रामा उपलब्ध रहेको सहायक प्रजिअ प्रसाईँले बताउनुभयो।

जिल्ला विपद् व्यवस्थापन समितिले **‘एकका लागि एक अभियान’**सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ। अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार विभिन्न दाताबाट रु ६० लाख बराबरको सहयोग संकलन भइसकेको छ। राहत प्याकेजमा प्रत्येक परिवारका लागि चामल, तेल, नुन, आलु, दाल, पानी, म्याट र कम्बल समावेश गरिएको छ।

कनकाईमा करिब चार करोडको क्षति

यसैबीच, झापाको कनकाई नगरक्षेत्रमा मात्र करिब रु ४ करोड बराबरको क्षति पुगेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो। गत असोज १८ गतेको बाढीले २५ बिघा जमिन कटान र करिब ८०० मिटर सडक क्षति गरेको छ।

नगरप्रमुख पोखरेलका अनुसार, “कनकाई र बिरीङ नदीमा तटबन्धन भएकाले ठूलो क्षति हुन पाएन, तर करिब ५० घरपरिवार प्रभावित भएका छन्।” नगरपालिकाले विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै राहत वितरण सुरु गरेको र कार्यपालिका बैठकबाट थप राहत कार्यक्रम ल्याइने तयारी भइरहेको नगरप्रमुखले बताउनुभयो।

Facebook Comments Box