प्रधानमन्त्री देउवा आज मोरङ र खोटाङ जाँदै

काठमाडौं, ७ चैत – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताले राजनीतिक दौडधुपलाई तीव्र बनाएका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता यतिबेला आफ्नो पार्टीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन् दिनहुँजसो राजधानी बाहिर गइरहेका छन्।

यसैक्रममा प्रधानमन्त्री देउवा आज मोरङ र खोटाङ जाँदैछन्। कांग्रेसले सुन्दरहरैचा नगरपालिकामा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन देउवा मोरङ जान लागेका हुन्। त्यसक्रममा देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मोरङको कार्यक्रम सकेर आजै देउवा खोटाङ जाने कार्यक्रम छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा दिउँसो खोटाङ जान लागेका हुन्।

Facebook Comments Box