उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौँ, ४ साउन – बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
तर गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ हुँदै बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ। यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व र पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला लगायतका जिल्लामा बग्ने स–साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
महाशाखाले साउन ५ र ६ गते पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना औँल्याएको छ। नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा स्थानीय निकाय र सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न महाशाखाले आग्रह गरेको छ।

