सत्ता गठबन्धनलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने ओलीको चेतावनी
काठमाडौं, ५ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।
एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताए ।
कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेले भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमालले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताए ।
त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिए ।
आज काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिएका हुन् ।

