देशका विभिन्न स्थानमा वर्षा र चट्याङको सम्भावना, महाशाखाद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १५ जेठ – हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । यस प्रणालीका कारण देशका विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली र तराईमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने पूर्वानुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । मधेश, कोशी र बागमती प्रदेशका तराई भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
यस्तै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी चल्ने आकलन गरिएको छ । आज राति पनि लुम्बिनी र सुदूरपश्चिमसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ ।
मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । देशका केही तराई तथा पहाडी क्षेत्रमा तीव्र हावाहुरी र चट्याङको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

