वीरगञ्जमा हैजा सङ्क्रमित ९३ पुग्दा नियन्त्रण चुनौतीपूर्ण
वीरगञ्ज (पर्सा), १० भदौ
वीरगञ्ज महानगरमा हैजाबाट सङ्क्रमित हुनेको संख्या सोमबारसम्म ९३ पुगेको छ । हैजा नियन्त्रणका लागि तीनै तहका सरकार सक्रिय भए पनि सङ्क्रमणको दर घट्न सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन् ।
नारायणी अस्पतालमा मात्र ३२ जनामा हैजा पुष्टि भएको छ । यस्तै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना, अर्ली अर्थाे अस्पतालमा दुई जना तथा अन्य नौवटा स्वास्थ्य संस्थामा एक/एक जनामा हैजा भेटिएको छ ।
अहिलेसम्म झाडापखाला र हैजा लिएर अस्पताल आएका बिरामीको संख्या ३४४ पुगेको छ । तीमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियुमा र १२२ जना जनरल वार्डमा उपचाररत छन् ।

