जबरविरुद्धको महाअभियोग प्रस्ताव समितिको छलफलमा एमालेले पनि भाग लिने

काठमाडौँ, २९ फागुन – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरविरुद्धको महाअभियोग प्रस्ताव समितिको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि भाग लिने भएको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महाअभियोगको प्रस्ताव समितिमा छलफलका लागि जाने बताए। उनले एमालेले समितिमा छलफलमा भाग लिने पनि बताए। संसद अवरोधको सम्बन्धमा भने पार्टी छलफलमै रहेको उनले उल्लेख गरेका छन्।

‘हामीले समितिमा हाम्रा साथीहरुको नाम पनि दिएका छौँ। समितिले पूर्णता पाएको छ। अब महाअभियोग सम्बन्धी विषय संसदबाट निर्णय भएर सायद चैत्र २ गते समितिमा पुग्ला र समितिले काम सुरु गर्ला’, उनले भने, ‘समितिमा नाम दिएपछि समितिको काममा त भाग लिने कुरामा त विवाद भएन नि। समितिको काम गर्नका लागि अवरोध खुलाउनु पर्दैन। जहाँसम्म हाम्रो अवरोधको कुरा हो अवरोधको सन्दर्भमा पनि हामी निरन्तर छलफल गरिरहेका छौँ। र यस बारेमा पनि हामी टुंगोमा पुग्छौँ।’

एमाले सांसद खगराज अधिकारीले सरकार र सभामुखले संसद अवरोध गरिरहेको आरोप लगाए। संसदलाई प्रभावकारी बनाउन नदिन गलत कामहरु गरिरहेको उनले बताएका छन्। सांसद अधिकारीले महाअभियोगको सम्बन्धमा समितिमा एमालेले छलफलमा भाग लिए पनि प्रतिनिधि सभामा भने विरोध जारी राख्ने बताए।

‘हामी संसदको प्रक्रियालाई मझबुद ढंगले अगाडी बढाउन चाहान्छौँ। अहिले जुन किर्ते काम भएको छ, गैरसांसदहरु सहितको संसद बनाइएको छ, त्यस कुराको हाम्रो विरोध हो। असहमती हो। संसदीय परम्परा, संसदीय संस्कार र संसदको मुल्य, मान्यता र कानुनलाई हामीले मझबुद रुपमा अगाडी बढाउन चाहान्छौँ। यो कुरा हामीले तपाईहरुलाई प्रष्ट पार्न सकेका छैनौँ।

त्यसैले हामीले संसद अवरोध गर्नुभएको छ भन्नुहुन्छ तपाईहरु बेलाबेला। संसद अवरोध त सरकारले गर्‍या छ’, उनले भने, ‘सभामुखले गर्नुभा’छ। उहाँहरु संसदलाई प्रभावकारी बनाउन नदिन सम्पूर्ण गलत कामहरु उहाँहरुले गरिरहनुभएको छ र हामी यस कुराविरुद्ध छौँ। महाअभियोगबारे संसदीय प्रक्रिया समितिमा गइसकेपछि संसदीय समितिमा हामी हाम्रा कुरा प्रष्ट राख्छौँ। संसदमा हाम्रो विरोध जारी नै छ।’

Facebook Comments Box