एमालेको साविकको निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक २ सय ६० सदस्यीय केन्द्रीय कमिटी

काठमाडौँ, १ भदौ – सरकारले नेकपा एमाले विभाजन गर्ने योजनासहित राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेको केपी शर्मा ओली पक्षले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक गराएको छ ।

मंगलबार आयोगमा बुझाइएको विवरण अनुसार एमालेको साविकको २०३ सदस्यीय केन्द्रीय कमिटीमा ५७ जना थपेर २ सय ६० सदस्यीय बनाइएको छ।

ओली पक्षले केन्द्रीय कमिटी बैठकको निर्णय र हस्ताक्षर, पार्टीको विधान, पार्टी विवाद समाधानको लागि गठन गरिएको १० सदस्यीय कार्यदल निर्णय लगायत विवरण आयोगमा अद्यावधिकका लागि दर्ता गरेको स्रोतले जनाएको छ।

‘२६० जनाको नाम अद्यावधिकका लागि आयोगमा दर्ता भएको छ,’ आयोग स्रोतले भन्यो, ‘केन्द्रीय सदस्यको नामावली र हस्ताक्षर र पार्टी निर्णय, १० सदस्यीय कार्यदलको निर्णय दर्ता हुन आएको छ, प्रशासनिक कार्य सुरु भइसकेको छ ।’
सरकारले मंगलबार दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएपछि एमालेले नयाँ केन्द्रीय समितिमा ५७ जना थपेर अद्यावधिक गराएको हो ।

एमालेले यसअघि २०७७ चैत ७ गते माओवादी छोडेर एमाले प्रवेश गरेका २३ नेताहरुलाई थपेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरण गरेको थियो । त्यसबेलाको संख्या २ सय ६५ थियो ।

‘२०३ जनाको केन्द्रीय सदस्यको संख्या बढाएर २६० पुर्‍याउने निर्णयसहितको एमालेको पत्र आएको छ,’ स्रोतले भनेको छ।

ओलीले माधव नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरुको नाम भने काटेका छैनन्। तर कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कारबाहीमा परेका प्रकाश ज्वालाको नाम भने हटाइएको छ।

Facebook Comments Box