‘एमसीसीमा ज-जसले समर्थन गर्छन्, उनीहरू सबै राष्ट्रिय गद्दार हुन्।’ : भीम रावल

काठमाडौं, १५ फागुन – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताएका छन्। एमसीसी सम्झौता पास गर्न आइतावर बसेको संसद बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेता रावलले विपक्षमा मतदान गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रघाती सम्झौता अनुमोदन गर्न खोजेर गैरजिम्मेवार काम गरेको उनले बताए। ‘एमसीसी सम्झौतालाई संकल्प प्रस्ताव र व्याख्याबाट पारित गर्न खोज्नु गलत हो’, रावलले भने, ‘राष्ट्रिय स्वाधीनताको विषयमा हो-हल्लाबीच पारित गर्न खोज्नु लज्जास्पद हो।’

रावलले एमसीसीका पक्षमा मतदान गर्ने तयार सांसदहरुलाई राष्ट्रिय गद्दारको संज्ञा दिए। ‘एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो। देश र जनताप्रति धोका हो’, उनले भने, ‘एमसीसीमा ज-जसले समर्थन गर्छन्, उनीहरू सबै राष्ट्रिय गद्दार हुन्।’

नेपालमा एमसीसी लागू भएपछि नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनले बताए। रावलले एमसीसीका केही बुँदाहरु राष्ट्रघाती रहेका पनि बताए। ‘यदि जबर्जस्ती एमसीसी एमसीसी पास भएमा यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्‍याउँछ’, उनले भने।

एमालेका अरु सांसदले वेल घेराउ जारी राखिरहँदा त्यही पार्टीका रावलले सैद्धान्तिक छलफलमा भाग लिए। उनी रोस्ट्रममा पुगेरै एमसीसीको विरोधमा आफ्ना भनाइ राखे।

Facebook Comments Box