पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ललितपुर, १ फागुन – पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त सङ्ग्रहालयले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेका अनुसार अनलाइन टिकट बुकिङ प्रणाली हाल परीक्षण चरणमा छ। अहिले सङ्ग्रहालय परिसरमा रहेका दुई काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था यसअघि नै सुरु गरिएको छ।
“हालसम्म भौतिक काउन्टरबाटै टिकट काट्नुपर्ने व्यवस्था थियो,” प्रमुख लाखेले भन्नुभयो, “अब अनलाइन माध्यमबाटै अग्रिम टिकट बुकिङ गर्न सकिने भएपछि पर्यटकका लागि अझ सहज हुनेछ। परीक्षण सफल भएपछि छिट्टै औपचारिक रूपमा प्रणाली सुरु गर्ने तयारीमा छौँ।”
अनलाइन प्रणाली लागू भएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समय बचत हुने तथा पर्यटक व्यवस्थापन थप प्रभावकारी हुने विश्वास प्रशासनले लिएको छ। विशेषगरी पर्यटकको चाप बढ्ने सिजनमा यसले सहजता ल्याउने अपेक्षा गरिएको छ। सन् २०२५ मा सङ्ग्रहालयमा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन्। तीमध्ये सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटक रहेका छन्।

