सङ्क्रमणदर बढ्न थालेपछि माघे सङ्क्रान्तिमा लाग्ने कन्काई माई मेला नगर्ने निर्णय

झापा, २८ पुस – कोरोना सङ्क्रमणदर बढ्न थालेपछि र गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्नका लागि सार्वजनिक अपिल गरेपछि प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा लाग्ने माई(कन्काई)मेला नगर्ने निर्णय भएको छ । शिवसताक्षी नगरपालिका र कन्काई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी वर्षेनी मेला लाग्दै आएको थियो ।

दुबै नगरपालिकाले मेलाका लागि ठेक्का लगाएर सम्झौताको चरणमा पुगेको अवस्थामा सोमबार बसेको दुबै नगरका जनप्रतिनिधिहरुको बैठकले माईमेला रोक्ने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले सार्वजनिक सूचना गरेर जानकारी दिएको छ । कनकाई नदीको पूर्वपट्टी कनकाई नगरपालिका र पश्चिम पट्टी शिवसताक्षी नगरपालिकाले मेलाको व्यवस्थापन गर्दै आएको थियो ।

कोरोनाभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा तीन लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेका थिए । माई मेलामा नेपालका विभिन्न ठाउँका साथै भारतबाट समेत हजाराैं भक्तजनहरु आउने गरेको बताइन्छ । कन्काई अर्थात् माई इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ । यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट बगेकोछ ।

यसैबीच, झापामा कोरोना संक्रमण बढे पछि स्थानीय तह तथा प्रशासनले समेत कोरोना सङ्क्रमण रोक्नका लागि भिडभाड हुन नदिनका लागि यस्ता किसिमका मेला तथा भेला रोक्नलाई कसरत शुरु गरेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार हाल जिल्लामा ७९ जना सक्रिय सङ्क्रमित छन् ।

Facebook Comments Box