अमेरिकाले अफगानिस्तानको लागि ३० करोड ८० लाख डलर सहयोग घोषणा

अमेरिका, २८ पुस – अमेरिकाले अफगानिस्तानको लागि ३० करोड ८० लाख डलर सहयोग घोषणा गरेको छ। अमेरिकाले मानवीय सहायताको लागि उक्त सहयोग घोषणा गरेको हो।

तालिबानले नियन्त्रणमा लिएको पाँच महिनापछि अहिले अफगानिस्तान गम्भीर मानवीय संकटतर्फ उन्मुख देखिएको छ। अमेरिकाको ह्वाइट हाउसका प्रवक्त एमिली हार्नेले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यूएसएड)बाट यो सहयोग स्वतन्त्र मानवीय संगठनमार्फत दिइनेछ।

यो रकम आवास, स्वास्थ्य, जाडोबाट बच्ने सहयोग, विपद खाद्य सहायता, पानी र स्वच्छताको क्षेत्रमा खर्च गरिनेछ। यूएसएडले तालिबानसँग सहायताकर्मी र विशेषगरी महिलालाई स्वतन्त्र र सुरक्षित तरिकाले काम गर्न दिन आग्रह गरेको छ।

गत अगष्टयता अमेरिकाले अफगानिस्तानको लागि ७८ करोड डलर सहयोग घोषणा गरिसकेको छ। संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानको ३ करोड ८० लाख जनसंख्यामध्ये २२ प्रतिशत भोकमरी र अन्य ३६ प्रतिशतले खाद्य असुरक्षाको सामना गरिरहेका छन्।

Facebook Comments Box