ताप्लेजुङमा ट्याक्टर दुर्घटना, दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो । दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीका अनुसार ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ । ट्याक्टर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्छ ।

Facebook Comments Box