अमेरिकाको न्युयोर्क सहरस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु
अमेरिका, २६ पुस – अमेरिकाको न्युयोर्क सहरस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार आगलागीमा परी घाइते भएका अन्य ३२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये केहीको अवस्था गम्भीर छ।
आगलागी नियन्त्रण विभाका ड्यानिअल निग्रोले आगलागीपछि अत्यधिक मात्रामा धुवाँ निस्किएकाले १९ तलाको अपार्टमेन्टको प्रत्येक तलामा बस्ने मानिसहरु प्रभावित भएको बताएका छन्।
उनका अनुसार पछिल्लो ३० वर्षमा पहिलोपटक न्युयोर्कमा यति धेरै मानिसको मृत्यु हुने किसिमको विपत्ति देखिएको हो। अधिकारीहरुले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार ११ बजे अपार्टमेन्टको दोस्रो र तेस्रो तलाबाट आगलागी फैलिएको थियो।
जाडोमा हिटर ताताउने क्रममा सर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुको भनाइ छ। यो आगलागीमा समग्रमा ६३ जना मानिसहरु घाइते भएका छन्। जसमध्ये ३२ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्यको अवस्था सामान्य छ।

