आज कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा हल्ला वर्षाको सम्भावना
काठमाडौं, २६ पुस – आज कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा हल्ला वर्षाको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ। यी दुई प्रदेशका जिल्लामा अहिले पनि छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र साँझपख यो क्रम अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। ‘पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालको पूर्व र मध्य क्षेत्रमा कम हुँदै गएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘पूर्व र मध्य क्षेत्रको आकाशबाट बादल क्रमशः हट्दै गएपनि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाशमा भने अहिले पनि बादल लागिरहेको छ। यी दुई प्रेदशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’
नेपालको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

