आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, २ चैत – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
आज दिनभर लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यस्तै गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

