हरि अभिनव पुरस्कार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरलाई

काठमाडौँ, २७ कात्तिक – यस वर्षको हरि अभिनव पुरस्कार साहित्यकार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई प्रदान गरिएको छ ।

अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पुडासैनीलाई रु १५ हजार नगद र अभिनन्दनपत्रसहित सम्मान गरिएको थियो । साहित्यकार ‘एसपी आशा’ भने अस्वस्थ रहनुभएकाले यसअघि नै उहाँकै निवासमा गई रु १५ हजार नगदसहित अभिनन्दन पत्रले सम्मान गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष ‘वेदमणि’ को कृति ‘शृङ्गार धारा’ को विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जगतप्रसाद उपाध्यायले माधवप्रसाद घिमिरेपछि वार्णिक र मात्रिक छन्दमा कविता लेख्ने कवि कञ्चन पुडासैनी नै रहनुभएको समालोचक प्रा डा वासुदेव त्रिपाठीको समालोचना सही रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार विष्णप्रभातले पुरस्कृत व्यक्तित्वको साहित्यिक योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा परशुराम पराजुली ‘पराशर’ ले विमोचित पुस्तक ‘शृङ्गार धारा’ का बारेमा समीक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कवि एवं कवयित्रीले आ–आफ्ना रचना पाठ गर्नुभएको थियो ।

Facebook Comments Box