भोजपुरमा भएको बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो
भोजपुर, ३० कात्तिक – भोजपुरमा भएको टिफिन बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ। मंसिर ४ गते हुने निर्वाचन बहिष्कार अभियान चलाइरहेको विप्लव नेकपाले प्रचण्ड सहभागी हुने चुनावी सभानजिकै बम विस्फोटको जिम्मा लिएको हो।
भोजपुरको पौवादुम्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको थियो। विस्फोटबाट अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। उनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको खुलेको छ।
चुनाव बहिष्कार गर्ने पार्टीको नीति कार्यान्वयनका लागि बम विस्फोट गरिएको विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए। माओवादी अध्यक्ष प्रचण्ड उपस्थित हुने कार्यक्रम भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो। उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले जनाएको छ।

