नेपालको मौसम बदली, काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्का वर्षा

काठमाडौं, ३१ असोज – काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्का वर्षा भइरहेको छ। भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास विकसित न्यून चापिय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावको कारण गएराति देखि नै नेपालको मौसम बदली भएको हो।

अहिले बागमती प्रदेश, प्रदेश १, २ र लुम्बिनी प्रदेशका कतिपठ ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यो क्रम अबको दुईतीन दिनसम्म निरन्तर जारी रहने छ। ‘गए रातिदेखि नै काठमाडौं उपत्यकासहित प्रदेश १, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘वर्षाको यो क्रम अझै बढ्ने अनुमान हामीले गरेका छौँ। भोली र पर्सी आजको भन्दा केही ठूलो वर्षा हुन सक्छ।’

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास विकसित न्यून चापिय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले यतिबेला देशै भरको मौसम बदली भएको उनले बताइन्। ‘उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ। अबको एकदुई दिन देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,’ नगरकोटीले भनिन्।

मौसम बदली भएपछि देशैभर गर्मी केही घटेको छ। विगत केही दिनदेखि चर्को घाम लाग्दा गर्भी बढेको थियो। काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। हिजो सबैभन्दा बढी तापक्रम विराटनगरमा मापन गरिएको थियो। त्यहाँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

Facebook Comments Box