आज प्रदेश १, २ र बागमती प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
काठमाडौँ, १७ असोज – नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामै रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् मञ्जु बासीका अनुसार यसापालि मनसुन केही समय ढिलागरी बाहिरिने देखिएको हो। ‘कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने संकेत देखिएको छैन’, मौसमविद् बासीले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई नियमित रूपमा अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ। मौसमविद् बासीका अनुसार अहिले थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने देशका बाँकी प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश १, २ र बागमती प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ यिनै प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘काठमाडौं उपत्यकामा पनि दिउँसोतिर हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् बासीले भनिन्।
महाशाखाको अनुसार आज राति पनि प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

