विराटनगरस्थित रानी–जोगबनी नाका १८ महिनापछि पूर्णरूपमा खुला

विराटनगर, १७ असोज – मोरङको जोगबनी नाका १८ महिनापछि खुलेको छ। विराटनगरस्थित रानी–जोगबनी नाका १८ महिनापछि शनिबारदेखि पूर्णरूपमा खुला भएको हो।

नाकाबाट अब साविककै जसरी मोटरसाइकल, कार, जिप, सिटी रिक्सा, साइकलगायतका साना तथा ठूला सवारी साधन आवतजावत खुला भएको भन्सार प्रशासनले जनाएको छ।

दुई साताअघि सरकारले सबै सीमा नाका पूर्णरुपमा खुला गर्ने निर्णय गरेको थियो। विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालबाहक सवारी बाहेकका सवारी साधन चलेका थिएनन्।

सीमा नाका पूर्णरुपमा खुला भएपछि सर्वसाधारणले सीमावर्ती भारतीय बजार जोगबनीमा घरायसी उपयोगका सामग्री किनमेलका लागि निजी सवारी लिएर जाने क्रम पुनः सुरु भएको छ। चाडपर्वको बेला यो नाका भएर हजारौँ नेपाली भारतीय बजारमा दैनिक उपभोग्य सामान किन्न जाने गरेका छन्।

भारतबाट आउने नेपाली तथा भारतीय नागरिकलाई रानी नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

Facebook Comments Box