काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात

काठमाडौँ, १० फागुन – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसो र साँझ देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ।
आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँको चन्द्रागिरि, मकवानपुरको दामन लगायतका ठाउँमा आज साँझ हिमपात पनि भएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीकाअनुसार आज सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ।

‘पोखरामा आज ७ दशमलव ५ मिलिमिटर वर्षा भएको छ,’ नगरकोटीले नेपालखबरसँग भनिन्, ‘काठमाडौँ उपत्यकामा पनि आज ३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।’

पोखरापछि दाङको घोराहीमा ठूलो वर्षा भएको नगरकोटीले जानकारी दिइन्। त्यहाँ ५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ भने सुदुरपश्चिमको डडेलधुरामा ३.२ र दिपायलमा ३ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी मधेश प्रदेशका केही जिल्लामा पनि आज छिटपुट वर्षा भएको छ। बागमती प्रदेशका कतिपय ठाउँमा असिनासहित वर्षा भएको छ। अहिले पनि देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्थामा छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भूभागका थोरै स्थानसहित मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित छिटपुटदेखि हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति हल्का हिमपातको पनि सम्भावना छ। भोलिबाट भने देशको पश्चिमी क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने अनुमान महाशाखाले गरेको छ।

भोलि कोशी प्रदेशसहति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने विभागले जनाएको छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box