अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ : ईश्वर पोखरेल

काठमाडौं, ३ भदौ – वरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको भन्दै अपिल जारी गरेका छन्।

नेता नेपालले ९५ सदस्यीय नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। पार्टीभित्रको एकता कायम राख्न माधव नेपाललगायत केही नेतासँग आफैंले पनि पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै महासचिव पोखरेलले दुःख व्यक्त गरेका हुन्।

‘यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटकपटक अपिल गरिएको छ। माधव नेपाललगायत केही साथीहरूसँग यसबीच म आफैंले पनि पटकपटक कुराकानी गरेको छु, छलफल गरेको छु,’ महासचिव पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘तर ती सबै निर्रथक बने!’ यस्तै उनले ‘केही मानिस’ बाहिरिँदैमा विचलित नहुन स्वदेश तथा विदेशमा रहेका एमालेका नेता/कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध पनि गरेका छन्।

‘फुटको विगत हामी सबैले देखेका–भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा ‘धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पबद्ध छ, दृढताका साथ अघि बढिरहनेछ।’

पार्टी फुटाएर एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमै धब्बा लगाउने काम गरिएको आरोप लगाउँदै पोखरेलले घटनाकाे निन्दा गरेका छन्।

‘दु:खका साथ भन्नु पर्दै छ– यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ,’ उनले भनेका छन्, ‘पार्टीलाई एक ढिक्का बनाउन यस बीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ।’

Facebook Comments Box