काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्म थप, सार्वजनिक यातायात पास बनाएर काठमाडौं आउन पाउने
काठमाडौँ, ३१ असार – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।
लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
लामो दूरीको यातायातको प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा पठाएको जानकारी आएको उनले बताए ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भइरहेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास लिएर आउने गाडी उपत्यका प्रवेश गरिरहेको सिडिओ पराजुलीले बताए । ‘तर देशभरिको यातायात सञ्चालनको विषय हुनाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ’ उनले भने ।


