काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी, लामो दूरीका यातायात पनि खुल्न सक्ने

काठमाडौँ, ३१ असार – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ। त्यसका लागि आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल गरिने उनले बताए। ‘छलफलचाहिँ लामो दूरीका यातायात खुला गर्ने विषयमा पनि गर्छाैं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘तर १५ दिन अहिलेकै जस्तोगरी जाने सम्भावना बढी छ।’

उनका अनुसार लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिनेछ। ‘तर लामो दूरीका सवारीसाधन खोलिने सम्भावना म कम देख्छु’ उनले भने, ‘यो कुराचाहिँ बैठकमै गएपछि थाहा हुन्छ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको जानकारी दिए।

‘लामो दूरीका गाडी पनि खोल्ने कि भन्ने विषयमा मैले बुधबार मन्त्रीज्यूसँग कुरा राखेको छु, यात्रुलाई सास्ती भयो, विभिन्न बहानामा बढी भाडा असुल्ने काम भइरहको छ, अब के गर्ने भन्ने विषयमा आज छलफल गर्छाैं।’ उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ।

यसअघि थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा सुरु गरिएको थियो। पटकपटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पारिएको छ।

निषेधाज्ञा जारी गर्दा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले संयुक्त रूपमा आदेश जारी गर्ने गरेका छन्।

Facebook Comments Box