ललिता निवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारलाई १० लाख रूपियाँ धरौटीमा छाड्ने आदेश
काठमाडौँ, ३१ असार – बुधबार बिहान विशेष अदालतमा उपस्थित हुनुभएको कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रूपियाँ धरौटीमा छाड्ने आदेश भएकाे छ । अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।
ललिता निवास जग्गा प्रकरणमा मुछिनुभएका गच्छदार बुधबार बिहान १० बजे अदालत उपस्थित हुनुभएको थियो । उपरजिस्ट्रार पाण्डेयका अनुसार बिहान १० बजेबाट शुरु भएको बयान दिउँसो २ बजे सकिएको थियाे ।
२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको अाराेपमा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
गच्छदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ पाँच हजार रुपियाँ धरौटीमा छुटनु भएकाे थियाे भने जोशीलाइ साधारण तारेखमा अदालतले छाडेको थियो ।

