काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा थप खुकुलो

काठमाडौँ, १५ असार – काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा थप खुकुलो बनाइएको छ । कोरोना सङ्क्रमणदर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो ।

तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा सङ्क्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकामा आजदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ।

आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस चल्न थालेका छन् । बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सार्वजनिक गाडी चलाउन पाइनेछ । स्वास्थ्य मापदण्डको पूणर् पालना गर्दै र भौतिक दूरी कायम गरी गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आग्रह गरेको छ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा गाडी निसङ्क्रमित गर्नु पर्नेछ । निजी गाडीमा यस अघिदेखि नै जोर बिजोर प्रणाली सुरु भइसकेको छ ।
यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरी/पुस्तक पसल आजदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यसअघि यी पसलहरुलाई वार तोकिएको थियो । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, चिडियाखानालगायत भीडभाड हुने क्षेत्र भने खुल्ला गरिएको छैन । थपिएको निषेधाज्ञा आउँदो २१ गतेसम्म लागू हुनेछ ।

Facebook Comments Box