मेलम्ची नदीमा आएको बाढीका कारण ठूलो मात्रामा जनधन क्षति
सिन्धुपाल्चोक, २ असार – सिन्धुपाल्चोकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ठूलो मात्रामा जनधन क्षति भएको छ। सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बुधबार बिहान दिएको जानकारीअनुसार ४/५ जना व्यक्ति सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी छ। तर यति जना नै बेपत्ता भए भन्ने कुरा अहिले एकिन भइसकेको छैन।
रात परेकाले खासै केही गर्न सकेनौं, बिहानैदेखि हामी घटनास्थलमा परिचालित भएका छौं,’ अहिले यत्ति नै मानिस बेपत्ता भए भन्ने अवस्था छैन, अहिलेसम्म हामीले ४/५ जना मानिस सम्पर्कमा नरहेको भन्ने जानकारी पाएका छौं, खोजी गरिरहेका छौं।’ अहिले आफूहरू उद्धार र बेपत्ताको खोजीमा व्यस्त रहेको उनले जानकारी दिए। ‘हामी तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘त्यही भएर कति जना बेपत्ता भए भन्ने कुरा अहिले एकिन हुन बाँकी छ।’

