खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण
काठमाडौं, १० चैत – फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयो ।
चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने राजभण्डारीले बताउनुधयो ।
पुरुषमा ‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक भण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’
सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो । अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।