गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त
गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा कास्कीका तेजबहादुर गुरुङ नियुक्त हुनुभएको छ ।
पोखरा महानगरपालिका–१६ अर्मला स्थायी घर हुनुभएका गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।
सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ । सरकारले सदस्य सचिव छनोटका लागि खुला दर्खास्त आह्वान गरेको थियो । सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले सदस्य सचिव नियुक्तिका लागि गुरुङको नाम मन्त्रिपरिषद्मा पेश गरेकामा सो प्रस्तावलाई अनुमोदन गरेको मन्त्री बस्नेतले बताउनुभयो ।
सिफारिस समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेल विज्ञ दिलबहादुर गुरुङ सदस्य हुनुहुन्थ्यो । गुरुङसहित नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दर्ता गराउनुभएको थियो ।
सदस्य सचिवका लागि स्नातक उत्तीर्ण तथा ३० वर्ष उमेर पूरा भई ६० वर्ष नकटेको खेलकूद ऐनमा व्यवस्था गरिएको छ । सदस्य सचिवमा नियक्त गुरुङ नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष, नेपाल ह्याण्डबल सङ्घ र भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष रहनुभएको छ
शुरुआतमा बास्केटबलबाट खेल जीवन शुरु गर्नुभएका गुरुङले विसं २०३९ बाट ह्याण्डबल खेललाई मुख्य खेलका रुपमा लिँदै अघि बढ्नुभएको थियो । उहाँले सन् १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी गर्नुभएको थियो ।
प्रदेश सरकारले खेलकूूदको विकास तथा नियमनका लागि असोज दोस्रो साता प्रदेश खेलकूद विधेयक प्रदेशसभाबाट पारित गरेको थियो ।