एमाले स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं, २९ असार – नेकपा एमालेको स्थायी कमिठी बैठक आज बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो । आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहदुर तामाले बताए ।
यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए । आजको बैठकमा माधव पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

